News Griha :: न्यूजगृह
कांग्रेससँग रविको आक्रोशः एकपटक बोल्न माग्दा घिनलाग्दो मिडिया ट्रायल? 
फाइल तस्बिर

काठमाडौं— उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संसद्मा बोल्न खोज्दा प्रमुख प्रतिपक्ष दलका नेपाली कांग्रेसको कारण रोकिएपछि आक्रोश व्यक्त गरेका छन्। 

सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको भन्दै छानबिन समिति बनाउनुपर्ने मागसहित कांग्रेसले निरन्तर संसद्मा अवरोध गर्दै आइरहेको छ। 

आज पनि बिहान ११ बजे बोलाइएको बैठक ४ बजेसम्मका लागि सारिए पनि अझैसम्म सुरु हुन सकेको छैन। 

प्रधानमन्त्रीदेखि सभामुखसम्मले सहमतिको प्रयास थाले पनि कांग्रेस त्यसमा सकारात्मक नदेखिएपछि बैठक बस्ने संकेत देखिएको छैन। 

यसअघि लामिछानेले संसद्मा बोल्न समय मागे पनि कांग्रेसको अवरोधकै कारण बोल्न पाइरहेका थिएनन्।  

सोही प्रसंगमा बिहीबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले आफूले संसद्मा आफ्ना कुरा राख्ना खोज्दा मिडिया ट्रायल गरिएको भन्दै आक्रोश व्यक्त गरे। 

लामिछानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एक पटक बोल्न पाउनु पर्यो।त्यत्ति हो मागेको। यति घिनलाग्दो मिडिया ट्रायल?’

गृहमन्त्री लामिछानेमाथि छानबिन गर्नुपर्ने मागसहित कांग्रेसले आज राष्ट्रिय सभा बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:२८
Weather Update