News Griha :: न्यूजगृह
कांग्रेसका कारण अवरुद्ध राष्ट्रिय सभा, भोलिसम्मका लागि बैठक स्थगित 

काठमाडौं—प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुका कारण आजको राष्ट्रिय सभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। 

यसअघि मंगलबारको राष्ट्रिय सभा बैठक पनि स्थगित भएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्को दुवै सदनमा उपप्रधान एवं गृहमन्त्रीले रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 

आज दिउँसो १ः३० बजेका लागि बोलाइएको बैठक सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास खोज्न भन्दै अपरान्ह साढे ४ बजेसम्मका लागि स्थगित गरिएको थियो। बैठक बस्ने बित्तिकै कांग्रेसका सांसदहरुले विरोध जनाएपछि राष्ट्रिय सभा बैठक भोलि सम्मका लागि स्थगित गरिएको हो।
बैठक भोलि दिउँसो १ः१५ बजे बस्नेछ।  

यता अपरान्ह ४ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक पनि सुरु हुन सकेको छैन।

बिहान ११ बजे बोलाइएको बैठक सोही विषयमा सहमति खोज्न भन्दै ४ बजेसम्मका लागि सारिएको थियो। अहिले प्रधानमन्त्रीदेखि सभामुखसम्मले सहमतिको प्रयास जारी राखेका छन्। तर प्रमुख प्रतिपक्षी कांग्रेस छानबिन समितिको अडानबाट पछि हटेको छैन, उसले आज पनि संसद् बैठकमा अवरोध गर्ने तयारी गरेको छ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। तर  दुवै सदनमा कांग्रेसको अवरोधका कारण धन्यवाद प्रस्ताव समेत टेबुल हुन पाएको छैन। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १७:०२
Weather Update