-1715339816.jpg)
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्को अवरोधलार्ई जारी राख्ने भएको छ।
आज प्रधानमन्त्रीसँग सहमतिको प्रयास भए पनि सफल हुन नसकेपछि कांग्रेसले अवरोधलाई जारी नै राख्ने भएको हो।
कांग्रेस नेताहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएमा सरकारले संसदीय छानबिन समिति बनाउने प्रस्ताव गरेका थिए। तर त्यसमा कांग्रेसका केही नेताहरु सकारात्मक भए पनि ठूलो पंक्तिले त्यसमा विरोध जनाएपछि कांग्रेस पछि हटेको हो।
त्यस्तै आजै कांग्रेसको शीर्ष नेताहरुको बैठक बसेको थियो। उक्त बैठकले गृहमन्त्री लामिछानेको विषयलाई अन्यत्रै मोड्न खोजेको जस्तो मात्र गरिएकाले सहमत हुन नसकिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। सरकारको तर्फबाट समग्र सहकारीको एकैपटक छानबिनको कुरा गरेर गृहमन्त्री लामिछानेलाई उम्क्याउन खोजिएको भन्दै आफूहरु सकारात्मक नभएको बताए।
आज बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको थियो। तर अझैसम्म पनि बैठक सुरु हुन सकेको छैन।
कांग्रेसले यसअघि पनि निरन्तर संसद् बैठकमा अवरोध खडा गर्दै आइरहेको छ।