काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागप्रति सत्तापक्ष लचक भएको छ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै कांग्रेसले निरन्तर छानबिन समितिको मागसहित संसद्मा अवरोध कायम गर्दै आइरहेको छ।
आज बिहान बोलाइएको संसद् बैठक पनि कांग्रेसको अडानकै कारण अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ। बैठक नै सारेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार छलफलमा गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न दिएमा संसदीय छानबिन समिति बनाउने प्रधानमन्त्रीले प्रस्ताव गरेका थिए। त्यसमा आफूहरु सकारात्मक रहेको उनले बताए। यता सत्ता घटक दल नेकपा एमाले पनि सो विषयमा सकारात्मक देखिएको छ।
गृहमन्त्री लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास गरेका थिए।
गृहमन्त्रीलाई संसद्मा बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भएपछि प्रधानमन्त्री प्रचण्ड सत्तारुढ दलका शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन्।