News Griha :: न्यूजगृह
शेखर कोइरालाको आरोप– केपी ओली संसद् विघटनको बाटोमा जाँदैछन् 

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संसद् विघटन गर्न उद्धत रहेको आरोप लगाएका छन्। 

बिहीबार काठमाडौंमा आयोजित पार्टी निकट प्रजातान्त्रिक विचार समाजको २६औँ साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले ओलीको पछिल्लो अभिव्यक्तिप्रति कटाक्ष गर्दै सो आरोप लगाएका हुन्। 

कोइरालाले ओलीले यसअघि दुई–दुई पटकसम्म गरेको संसद् विघटनको पुनरावृत्ति गर्न फेरि संसद् विघटनको खेलमा लागेको आरोप लगाए। 
‘धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद् विघटन गरिकन दुई अढाइ वर्ष पहिले संसद् विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शंका गरिरहनुपर्दैन’, उनले भने।

वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बनेका हुन्।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसद्को ठूलो दलको नेता प्रधानमन्त्री बन्न सक्ने प्रावधान रहेको छ। साथै उक्त सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संविधानको धारा ७६ को उपधारा ५ बमोजिम संसद्बाट बहुमत पुर्याउन सक्ने जुनसुकै सदस्यले पनि प्रधानमन्त्रीमा दाबी पेस गर्न सक्ने प्रावधान रहेको छ।

कोइरालाले अहिले प्रधानमन्त्रीको मुख्य सारथीको रुपमा रहेको एमाले धारा ७६ को उपधारा ३ मा जान खोजेको तर प्रचण्डले सो कुरा नबुझेको टिप्पणी गरे। साथै संविधानको धारा ७६ को उपधारा ३ मा गइसकेपछि ओलीले कसैलाई पनि स्वीकार गर्ने पक्षमा नरहेको समेत बताए।

उनले भने, ‘एमाले ७६ (३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ (३) मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न।’

त्यस्तै कार्यक्रममा डा. कोइरालाले ओलीले संसद्मा कांग्रेसलाई बोल्न नदिने भन्ने कुराको खण्डन गरेका छन्। साथै डा. कोइरालाले एमाले अध्यक्ष ओलीको धम्कीले कांग्रेस नडराउने प्रतिक्रिया पनि दिए। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १४:०६
Weather Update