
काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अडानका कारण संघीय संसद्का दुवै सदनको बैठक प्रभावित भएको छ।
बिहीबार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो साढे १ बजेका लागि बोलाइएको थियो। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघि जस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै छानबिन समिति माग गरिरहेको छ।
कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि प्रधानमन्त्रीदेखि सभामुखसम्म छलफलमा रहेका छन्।
सहमति नजुटेपछि प्रतिनिधि सभा बैठक अपरान्ह ४ बजे र राष्ट्रिय सभा बैठक अपरान्ह ४ः३० बजेका लागि बोलाइएको हो।
त्यसो त मंगलबार संघीय संसद्को संयुक्त सदनको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा भने कांग्रेसले अवरोध गरेको थिएन। तर सोही दिन साँझ राष्ट्रपतिलाई धन्यवाद दिनका लागि बोलाइएको बैठकमा कांग्रेसले अवरोध गरेपछि धन्यवाद प्रस्ताव समेत टेबुल हुन सकेको थिएन।
संसद्को जारी अवरोध हटाउन बिहीबार बिहानैदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे छलफलमा जुटेका छन्। सो क्रममा प्रधानमन्त्रीले कांग्रेस शीर्ष नेताहरुसँग छलफल गरेका थिए। यता सभामुख घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए।
अहिले पनि सभामुख र प्रधानमन्त्री सहमति जुटाउन छलफलमा रहेका छन्।