News Griha :: न्यूजगृह
गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री ओलीकै पालामा भएको होः देउवा

काठमाडौं— नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरीबन्धु टी–स्टेटको जग्गा बिक्री नेपाली कांग्रेसको पालामा नभएको प्रष्ट पारेका छन्। उनले एमालेकै पालामा सो जग्गा बिक्री भएको भन्दै ओलीलाई आफ्नो पालामा गरेको निर्णयलाई हो भन्न किन नसकेको भनि उल्टो प्रश्न गरे। 

बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले केपी ओलीजस्तो नेताले गलत कुरा भन्न नसुहाउने बताए।  

अदालतले फैसला गरेपछि गिरीबन्धु टी–स्टेटको निर्णय कांग्रेसको पालामा भएको कुरा नेकपा एमाले अध्यक्ष ओलीले भनेका कुरा बाहिर आएको भन्दै उनले आफ्नो पालामा भएको निर्णयलाई हो भन्न किन आपत्ति? भन्दै प्रश्न गरे।

‘नेपालको राजनीतिमा ओलीजीले अदालतको निर्णयपछि दिएको अभिव्यक्तिबारे चर्चा भइरहेको छ। गिरीबन्धु टी—स्टेटको आफू निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ।  यस्तो कुरा उहाँजस्तो नेताले भन्नु सुहाउँदैन। आफूले जग्गा बिक्री गरेको भन्न के आपत्ति उहाँलाई?,’ देउवाले थपे, ‘अदालतले उहाँलाई भनेको हो। उहाँ के भन्नुहुन्छ भने निर्णय कांग्रेसको पालामा भएको छ। हाम्रो पालमा निर्णय भएकै छैन।’

देउवाले  ओली जत्तिकै जिम्मेवार नेताले नभएको आरोप लगाउन नहुने बताउँदै कांग्रेसको पालामा निर्णय नभएको स्पष्ट पारे। बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक कार्यक्रममा कांग्रेसले गिरीबन्धु टी—स्टेटको जमिन कमिसनमा बेच्न दिएको बताएका थिए। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:५५
Weather Update