-1715842194.jpg)
काठमाडौं— सुुदूरपश्चिम प्रदेशमा विपक्षीहरुको विरोधकाबीच मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्।
आजको बैठकमा कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरुले विरोध जनाएका थिए। विरोधकैबीच पनि रोस्टममा पुगेर मुख्यमन्त्री सोडारीले विश्वासको मत मागेका थिए।
होहल्लाकाबीच मुख्यमन्त्रीले विश्वासको मत माग्दा पनि सभामुखले विश्वासको मतका लागि मतदान प्रक्रियाका बारेका जानकारी गराउन थालेपछि कांग्रेस र नाउपा रेशम चौधरी पक्षका प्रदेश सभा सदस्यहरु बाहिर निस्किएका थिए।
आजको बैठकमा २८ प्रदेश सभा सदस्य रहेका थिए। उनको पक्षमा २८ नै मत परेकाले विश्वासको मत प्राप्त गरेको सभामुखले जानकारी गराएका हुन्। उनको विपक्षमा शून्य र तटस्थमा पनि शून्य नै मत परेको थियो।
सोडारी गत बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
५३ सदस्यीय सुुदूरपश्चिममा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका ११, नागरिक उन्मुक्ति पार्टीको ७, एकीकृत समाजवादीको ४, राप्रपाको १ र १ स्वतन्त्र सांसद रहेका छन् ।













