News Griha :: न्यूजगृह
सभामुखलाई फोन गरेर प्रधानमन्त्रीले भने– गृहमन्त्रीलाई बोल्न दिनेगरी कांग्रेससँग सहमति गर्दैछु
फाइल तस्बिर

काठमाडौं— संसद्को जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस नेताहरुसँग छलफलमा जुटेका छन्। 

केहीबेरअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच फोन सम्पर्क भएको र प्रधानमन्त्रीले आफू कांग्रेसलाई सहमतिमा ल्याउन लागिपरेको बताएका हुन्। 

सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्रीले सभामुखसँग आज संसद् बैठक निर्धारित समय भन्दा केही ढिला गरी बस्ने वातावरण मिलाउन आग्रह गरेका हुन्। त्यस्तै आफूले गृहमन्त्रीलाई संसद्मा बोल्ने वातावरण मिलाइरहेको समेत जानकारी गराएका हुन्। 

‘सम्माननीय सभामुखले केहीबेर अघि सम्माननीय प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भन्नुभएको छ। प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिनुभयो,’ सभामुखको सचिवालयले भनेको छ। 

यता सभामुख घिमिरले भने नयाँ बानेश्वरस्थित संसद् भवनस्थित आफ्नो कार्यकक्षमा काननुमन्त्री पदम गिरीसहित मुख्य दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन्। 

छलफलमा कानुनमन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी रहेका थिए।

आज बिहान ११ बजेका लागि बैठक बोलाइएको थियो। तर अझैसम्म बैठक सुरु हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दल कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले छानबिन समिति माग गरिरहेको छ। यसअघिका बैठकहरुमा निरन्तर आवाज उठाइरहेको कांग्रेसले आजको बैठकमा थप कडाइका साथ प्रस्तुत हुने तयारी गरिरहेको छ। 

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:००
Weather Update