News Griha :: न्यूजगृह
संसद् बैठक अझै सुरु भएन, अवरोध हटाउन छलफलमा सभामुख 

काठमाडौं— सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्। 

प्रतिनिधि सभाको आज बस्ने बैठक सञ्चालनमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध जारी राख्ने घोषणा गरेको सन्दर्भमा सभामुखले छलफल गरेका हुन्।

सभामुखले प्रधानमन्त्री दाहालसँग फोनमा कुरा गरेका थिए भने प्रमुख सचेतकहरुसँग आफ्नो कार्यकक्षमा सामूहिक छलफल गरेका हुन्। 

सभामुख सचिवालयका अनुसार बैठक सहज बनाउन सभामुखले नेताहरुसँग पनि संवाद जारी राखेका छन्।

यसअघि मंगलबार राष्ट्रपतिद्वारा संसद्मा प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत सदनमा पेस हुन पाएको छैन। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सरकारी ठगी प्रकरणमा मुछिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आइरहेको छ।

आज बिहान ११ बजेबा लागि बोलाइएको बैठक अझैसम्म समेत बस्न सकेको छैन। आजको बैठकमा कांग्रेस थप कडा रुपमा प्रस्तुत हुने तयारीपछि सभामुखले अवरोध हटाउन थप सक्रिय बनेका हुन्।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:३२
Weather Update