News Griha :: न्यूजगृह
प्रतिनिधि सभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने

काठमाडौं— संघीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक बिहीबार बस्दैछ। बैठक बिहान ११ बजे बस्नेछ। 

सहकारीको बचत अपचलन र ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

माग पूरा नभएसम्म सदन चल्न नदिने उसको अडान छ। 

गत मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भए पनि सदनमा टेबल हुन सकेको छैन। कांग्रेसकै अवरोधका कारण राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत प्रस्तुत हुन सकेन।

संसद्को अवरोध हटाउने विषयमा सभामुखले गरेको प्रयास सफल हुन सकेको छैन। सत्तारुढ दलका शीर्ष नेताहरूको बैठकले भने गृहमन्त्री लामिछानेले संसद्मा जवाफ दिन पाउनुपर्ने अडान राखेको छ। त्यसपछि आवश्यक परे समिति गठन गर्न सकिने निष्कर्ष बुधबार बसेको बैठकले निकालेको छ।

बिहीबार बस्ने प्रतिनिधि सभाको बैठकका लागि सङ्घीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूची तय गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण एवम् मन्त्री तथा राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

यस्तै प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ।

त्यस्तै बैठकमा उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ०६:१३
Weather Update