काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्स पञ्जाब किंग्ससँग पराजित भएको छ। गएराति सम्पन्न खेलमा पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो।
राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेट्टायो। पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र ३ छक्का सहित सर्वाधिक ६३ रनको अविजित इनिङ्स खेले।
यस्तै राईली रुसो र जितेश शर्माले समान २२/२२ रन बनाए। आशुतोष शर्माले १७ रन जोडे। राजस्थानका लागि आभेस खान र युजभेन्द्र चहलले समान २/२ विकेट लिँदा एक विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो।
त्यसअघि गुवाहाटीमा टस जितेर ब्याटिङ गरेको राजस्थानले ९ विकेटको क्षतिमा १४४ रन मात्र बनाउन सक्यो। राजस्थानका रियान परागले ३४ बलमा बनाएको ४८ रन नै सर्वाधिक रह्यो। रविचन्द्रण आश्विनले २८ रन बनाउँदा कप्तान सञ्जु स्यामसन र टम कोहलर, क्याडमोरले समान १८ रन बनाए।
पञ्जाबका स्याम करन, हर्शल पटेल र राहुल चहरले २/२ विकेट लिए भने अर्शदिप सिंह र नेथन एलिसले १/१ विकेट लिए। यसअघि नै प्लेअफ दौडबाट बाहिरिएको पञ्जाबको १३ खेलमा १० अंक पुगेको छ।
प्लेअफमा पुगिसकेको राजस्थानको १३ खेलमा १६ अंक छ। आईपिएलमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स् भिड्ने छन्।