
काठमाडौं— सभामुख देवराज घिमिरेले संसद्को अवरोध हटाउन प्रतिपक्षी दल नेपाली कांग्रेससँग तत्काल सहमतिको प्रयास थाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन्।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच संसद्मा जारी अवरोध हटाउने विषयमा छलफल भएको थियो। छलफलका क्रममा सभामुख घिमिरेले प्रतिपक्षीको मागका कारण संसद् प्रभावकारी हुन नसकेको र त्यसो हुन नसक्दा जनताका सवालमा निर्णयहरु गर्न नसकिएको बताएका थिए। जसकारण प्रतिपक्षसँग तत्काल सम्वाद थालेर अवरोध हटाउने प्रयास गर्न प्रधानमन्त्रीलाई सभामुखले आग्रह गरेका हुन्।
प्रतिपक्षको निरन्तरको अवरोधले संसदबाट विधेयकहरु पारित गर्न नसकिएको, नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न असम्भव देखिएको जस्ता विषयमा प्रधानमन्त्रीसँग चर्चा गरेका थिए।
मंगलबार राष्ट्रिय सभाबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित गर्न नसकिएको स्मरण गराउँदै सभामुखले भोलि बिहीबार बस्ने प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने वातावरण बनाउन प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।
मंगलबारको संसद् बैठकमा कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिए पनि त्यसपछिको बैठकमा सहकारी प्रकणमा संसदीय समिति गठनको अडान कायम राख्दै अवरोध गरेको थियो।
छलफलमा प्रधानमन्त्रीले आज सत्तापक्षका नेताहरुसँग बैठक बस्ने तयारी गरेको जानकारी दिँदै भोलि (३) गते बस्ने संसद् बैठक खुलाउने गरी प्रयाश गर्ने सभामुखलाई आश्वासन दिएका थिए।