
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल)को अन्तिम खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ।
घरेलु मैदानमा गएराति भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो। २०९ रनको लक्ष्य पछ्याएको लखनउले ९ विकेटको क्षतिमा १८९ रन मात्रै बनायो। लखनउका निकोलस पुरनले ६१ र अर्षद खानले ५८ रन बनाए पनि हार टार्न सकेनन्। अरु ब्याटर भने खासै चल्न सकेनन्।
दिल्लीका इशान्त शर्माले ३, खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव र ट्रिस्टन स्टब्सले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको दिल्लीले ४ विकेट गुमाएर २०८ रन बनाएको थियो। अभिषेक पोरेलले ५८, ट्रिस्टन स्टब्सले ५७, साइ होपले ३८ र ऋषभ पन्तले ३३ रनको योगदान गरे। लखनउका नवीन उल हकले २, अर्शद खान र रवि विश्नोइले एक/एक विकेट लिए।
दिल्लीले लिगचरणका सबै खेल सकेर १४ अंक जोडेको छ भने पराजित भएको लखनउले एक खेल बाँकी छ र १२ अंक जोडेको छ।
यो नतिजाले यी दुवै टोलीको प्लेअफमा पुग्ने सम्भावना न्यून बनेको छ। लखनउले बाँकी एक खेलमा ठुलो अन्तरले जित निकालेमा सम्भावना बाँकी हुनेछ भने दिल्ली औपचारिक रुपमा बाहिरिन बाँकी छ।