काठमाडौं— स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भूभागमा बुधबार वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा बिहान हल्का वर्षा भइरहेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ। बाँकी पहाडी भूभागमा आंशिक बदली तथा तराईका भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरी सहित हल्का वर्षाको सम्भावना छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।