
काठमाडौं— राष्ट्रिय सतर्कता केन्द्रले काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्रका लागि चलिरहेका ट्रायल सेन्टरहरूमाथि कारबाही गर्न निर्देशन दिएको छ।
यातायात व्यवस्था कार्यालयहरु (सवारी चालक अनुमति पत्र), राधेराधे भक्तपुर, ठूलोभर्याङ, चाबहिल र एकान्तकुनालाई पत्र लेख्दै केन्द्रले कारबाही गर्न निर्देशन दिएको हो। मापदण्ड कायम नगरी ती ट्रायल सेन्टर नचलाउन निर्देशन दिएको हो।
सरकारले भाडामा लिएर ट्रायल चलाइरहेको इजी वे ट्रायल सेन्टर राधेराधे भक्तपुर, बुढाथोकी ट्रेडर्स एन्ड ट्रेनिङ स्कुल भक्तपुर, भेहिकल एकेडेमी तथा रिसर्च सेन्टर प्रालि गुर्जुधारा, नेपाल ड्राइभिङ एन्ड रिकन्डिसन सेन्टर प्रालि गोकर्णेश्वर, सुजुकी ड्राइभिङ स्कुल प्रालि एकान्तकुना, सिटी ड्राइभिङ प्रशिक्षण केन्द्रको स्थलगत निरीक्षणपछि राष्ट्रिय सतर्कता केन्द्रले ती ट्रायल सेन्टरहरुले सरकारले तोकेको मापदण्डमा नै पुरा नगरेको भन्दै कारबाही गर्न निर्देशन दिएको हो।
मनोमानी शुल्क लिएको भन्ने उजुरीका सम्बन्धमा त्यहाँ कार्यालयले सवारी चालक अनुमतिपत्र सम्बन्धी प्रयोगात्मक परीक्षा लिने ट्रायल सेन्टरहरुले सवारी चालक प्रशिक्षण केन्द्र निर्देशिका, २०७४ मा व्यवस्था भएको मापदण्ड पालना नगरेका हुन्।
काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश ट्रायल सेन्टरहरुले निर्देशिकामा भएको व्यवस्था तथा मापदण्ड पालना नगरी ट्रायल सेन्टरहरु सञ्चालन गर्दा धेरै परीक्षार्थीहरु फेल हुने गरेको केन्द्रको निष्कर्ष छ।














