News Griha :: न्यूजगृह
एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने

काठमाडौं— नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले विश्वासको मत दिने बताए।

एमाले नेतृत्वबाट विश्वासको मत दिन निर्देशन आएकोले सोहीअनुसार आफूहरूले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी गरेको उनको भनाइ छ। बुधबार दलको बैठक बसेर यसबारे आधिकारिक निर्णय गर्ने रावलको भनाइ छ।

मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदैछन्।

यसअघि वैशाख २१ र २२ गते दुई पटक विश्वासको मत लिने जमर्को गरेका मुख्यमन्त्री सोडारी एमालेको अड्कोले विश्वासको मत लिन सकेका थिएनन्। नवनिर्वाचित सांसद दमनबहादुर भण्डारीलाई शपथ नलिएर गठबन्धनमा छलफल नगरी हतार गरेर विश्वासको मत लिन खोजेको, बझाङ उपचुनावमा एमालेलाई हराउने गरी उम्मेदवार खडा गरेको तथा गठबन्धनभित्रको एमाले र एकीकृत समाजवादीको खटपटले एमाले सोडारीलाई विश्वासको मत दिन तयार भएको थिएन।

वैशाख ६ मा मुख्यमन्त्री नियुक्त भएका सोडारीले एक महिनाभित्र प्रदेश सभामा बहुमत सिद्ध गर्न विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक व्यवस्था छ। ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। ४ सांसद रहेको नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र स्वतन्त्र सांसद डा ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

बझाङ उपचुनावमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएपछि सत्ता गठबन्धनलाई बहुमतका लागि झनै सहजता छ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:०५
Weather Update