News Griha :: न्यूजगृह
कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं— प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ। मंगलबार साँझ बसेको राष्ट्रिय सभा बैठक कांग्रेसले अवरोध गरेको हो।

बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरू बसेको ठाउँबाट उठेका थिए। उनीहरूले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेका छन्।

राष्ट्रिय सभामा कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने बताए। राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, सञ्चार मन्त्री रेखा शर्मा र कानुन मन्त्री पदम गिरी सहभागी छन्।

यसअघि मंगलबार दिउँसो बसेको संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

राष्ट्रपतिलाई धन्यवाद दिन राष्ट्रिय सभा बैठक बसेको हो। उक्त बैठक कांग्रेसले अवरोध गरेको छ।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक जेठ ३ गते बिहीबार दिउँसो १ः१५ मा बस्ने गरी स्थगित भएको जानकारी गराएका छन्।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १८:१०
Weather Update