News Griha :: न्यूजगृह
सामान्य सवारीबाट राष्ट्रपति पौडेल संसद् भवन जाँदै 

काठमाडौं— सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल तामझाम बिना नै सामान्य रुपमा संघीय संसद् भवन जाने भएका छन्। उनको सवारी अन्य अवस्थाको जस्तै सामान्य हुने सुरक्षा निकायले जनाएको छ।

राष्ट्रपति पौडेलको सवारी आज नयाँ बानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ हुने जनाइएको छ। उनलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गर्नेछन् भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गर्नेछ।

राष्ट्रपति पौडेल गत वर्ष पनि तामझाम बिना नै संसद् भवन नयाँ बानेश्वर पुगेका थिए। 

विगतमा नयाँ बानेश्वरसम्मको बाटो खाली गराएर राष्ट्रपति भवन शीतल निवासबाटै घोडसवार फौजसहित विशेष सवारी गर्ने गरिएको थियो।

राष्ट्रपति पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१—८२ नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा आज अपराह्न ३ बजे प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ। संघीय संसद् सचिवालयका अनुसार आज बिहान राष्ट्रपतिको संसद् प्रवेशको ‘रिहर्सल’ गरिएको थियो। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् भवन सिङ्गारिएको छ। संसद् भवन परिसरमा सुरक्षा व्यवस्था मजबुद बनाइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १५:०१
Weather Update