News Griha :: न्यूजगृह
प्रमुख सचेतकहरुसँग सभामुखको छलफल सकियो, कसले के भने? 

काठमाडौं— संघीय संसद्को संयुक्त सदनको बैठकमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका विषयमा सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुसँग छलफल गरेका छन्।  

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको छलफलमा सभामुख घिमिरेले नीति तथा कार्यक्रमाथिको छलफलदेखि बजेटसम्ममा दलहरुले संसद्लाई सहयोग गर्न आग्रह गरेका छन्।   

‘दलहरूबीच सहमति नहुँदा नीति तथा कार्यक्रममाथिको छलफल, आगामी बैठकहरु र बजेट प्रभावित हुने अवस्था आउनु राम्रो होइन। राजनीतिक दलहरुबीच सहमति नहुँदा संसदका बिजनेश प्रभावित हुने देखिएको छ। संवैधानिक संकट हुने अवस्था नआओस्,’ सभामुख घिमिरेले भनेका छन्। 

त्यस्तै नेपाली कांग्रेसले भने नीति तथा कार्यक्रम प्रस्तुत हुने दिने तर त्यसपछि आजै बोलइने बैठकमा अवरोध सिर्जना गर्ने जानकारी गराएको छ। कांग्रेसको तर्फबाट छलफलमा सहभागि सचेतक सुशीला थिङले भनिन्, ‘नेपाली कांग्रेस संसदीय दलले आज नीति तथा कार्यक्रम प्रस्तुत हुन सहयोग गर्ने तर त्यसपछि धन्यवाद प्रस्ताव टेबुल गर्ने प्रयोजनका लागि बोलाइएको बैठकमा विरोध जारी रहन्छ। छानबिन समिति नबनेसम्म हाम्रो संसदीय विरोध कार्यक्रम रहिरहन्छ।’ 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने मागलाई अघि सारेका छन्। यसअघिका बैठकमा कांग्रेसको अवरोधका कारण बोल्न नपाएको भन्दै आज नीति तथा कार्यक्रमको बैठकमा बोल्न पाउनुपर्नेमा जोड दिए। 

‘गृहमन्त्रीलाई गएको बैठकमा सभामुखले बोल्न समय दिनुभएको थियो। बोल्न पाउनुभएको छैन। आजको बैठकमा त्यसको निरन्तरतास्वरुप बोल्न दिनुपर्छ। गृहमन्त्रीले बोल्न पाउनुपर्छ। धन्यवाद प्रस्ताव टेबल नभएसम्म नीति तथा कार्यक्रमको कोर्ष पूरा हुँदैन। कांग्रेसले पुनर्विचार गर्नुपर्छ,’ उनले भने।  

बैठकमा सभामुखले आजको संयुक्त सदन र प्रतिनिधि सभाको बैठकका कार्यसूचीबारे जानकारी दिए। उनले नीति तथा कार्यक्रममाथिको छलफलको तयारीबारे पनि जानकारी दिएको सभामुखको सचिवालयले जनाएको छ। 

आजको बैठकमा कानुनमन्त्री पदम गिरीसहित उपसभामुख इन्दिरा रानाको समेत सहभागिता रहेको थियो। 

केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १३:१२
Weather Update