
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक खेल हुँदै छ। आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदै छ। दिल्लीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुने छ।
जारी आईपीएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ। १३ खेलमा १२ अंकसहित दिल्ली छैटौँ स्थानमा छ र यो खेल दिल्लीको लिग चरणको अन्तिम खेल समेत हो। यो खेल जितेपनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ।
अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ। १२ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना कायम रहेको देखिएको छ। त्यसैले पनि लखनउका लागि यो खेलमा जित महत्वपूर्ण रहेको छ।
दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा यस सिजनको आईपीएल खेल्दै छ। दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपीएलबाट क्रिकेटमा पुनरागमन गरेका छन् र अहिलेसम्म शानदार प्रदर्शन गरिरहेका छन्।
आईपीएलको प्रदर्शनले उनी भारतको टी२० विश्वकप खेल्ने टिममा सामेल गरिएको छ। दिल्लीमा कप्तान ऋषभका अलावा कुलदीप यादव, अभिषेक पोरेल, यश धूल, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ।
त्यस्तै जेक फ्रासर म्याकग्रुक, साइ होप, ट्रिसटियन स्ट्ब्स, डेविड वार्नर जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ। दिल्ली क्यापिटल्सको आईपीएलमा २०२० मा उपविजेता बनेको थियो। यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो। गत सिजनमा दिल्ली नवौँ स्थानमा रहेको थियो।
त्यस्तै लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ। यस टिममा कप्तान राहुलसहित दिपक हुड्डा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर, आयुष बदानी र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन्।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नवीन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ।