
काठमाडौं— संसद्को गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहानैदेखि सक्रिय भएका छन्। उनले अहिले नेपाली कांग्रेसका नेताहरूसँग बालुवाटारमा छलफल गरिरहेका छन्।
संसदीय दलको बैठकअघि प्रधानमन्त्रीसँग छलफलका लागि कांग्रेस महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक बालुवाटार पुगेका हुन्। संसद्को गतिरोध अन्त्यका विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डको बोलाहटमा बालुवाटार पुगेको प्रमुख सचेतक लेखकले जानकारी दिए।
आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सदनमा पेस गर्ने कार्यसूची रहेकाले प्रधानमन्त्रीले सहमतिका लागि कांग्रेस नेताहरूसँग छलफल गर्न लागेका हुन्।
कांग्रेस संसदीय दलको बैठक पनि आज बिहान बस्दै छ। कांग्रेसले सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।
बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ।