News Griha :: न्यूजगृह
चार प्रदेशका केही भूभागमा वर्षा हुने

काठमाडौं— हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीकोसमेत प्रभाव रहेको छ। यतिबेला (मंगलबार बिहान) देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीकै अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङ र हवाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०७:०५
Weather Update