वर्षाले कोलकाता र गुजरातबीचको खेल रद्द, दुवै टिमले अंक बाँडे

काठमाडौं— आईपीएल क्रिकेटमा गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द भएको छ।
अहम्दाबादको नरेन्द्र मोदी स्टेडियममा हुने तय भएको खेलमा लगातारको वर्षा भएपछि टस नै हुन सकेन।
खेल रद्द भएपछि दुई टोलीले समान एक एक अंक बाँडेका छन्। यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको छ। लगातार दुई सिजन फाइनलमा पुगेको टोली यसपटक भने प्लेअफ सम्म पनि पुग्न सकेन।
गुजरातको १३ खेलमा ११ अंक रहेको छ। कोलकाता भने शीर्ष दुईमा रहेर प्लेअफ पुग्ने पक्का भएको छ। १३ खेलमा १९ अंक भएको कोलकाता शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायरमा फाइनल प्रवेशका लागि भिड्ने छ।
आईपीएलमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्ने छन्। दिल्लीको १३ खेलमा १२ अंक रहेको छ भने लखनउको १२ खेलमा १२ अंक रहेको छ। दुवै टोलीको प्लेअफ सम्भावना कायमै रहेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१ ०६:२१