News Griha :: न्यूजगृह
सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौं— सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस हुने भएको छ।

मंगलबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का प्रवक्ता दशरथ धमलाले जानकारी दिए। 

तर संसद्‌को गतिरोध अन्त्य गर्ने विषयमा भएको सत्तारुढ दलको छलफलमा जुटे पनि कुनै निष्कर्षमा पुगेका छैनन्। दलहरूको आआफ्नै अडानले आज प्रस्तुत हुने नीति तथा कार्यक्रम नै प्रभावित हुने जोखिम देखिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागका कारण सदन दुई महिनादेखि अवरुद्ध छ। आज सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यतालिका रहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्षीको अडानका कारण संसद्को गतिरोध अन्त्य हुने संकेत अझै देखिएको छैन। 

कांग्रेसले उठाएको छानबिन समिति गठनका विषयमा प्रधानमन्त्री नरम देखिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली विपक्षमा रहेका छन्। कांग्रेस पनि टसका मस भएको छैन्। सोमबार दिनभरजसो भएका छलफल निष्कर्षमा नपुगेपछि आज थप गृहकार्यमा नेताहरू जुट्दै छन्।

त्यसअघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बिहान ८ बजे कांग्रेस संसदीय दलको कार्यालयमा दलको बैठक बसेर थप निर्णय गरिने सचेतक सुशीला थिङले जानकारी दिइन्। 

धमलाका अनुसार नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रिय सभामा छुट्टाछुट्टै छलफल गरिने छ। प्रतिनिधि सभा बैठकमा जेठ ३, ४, ६, ७, ८ र ९ गते छलफल हुने र अन्तिम दिन पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  

त्यसैगरी राष्ट्रिय सभामा भने जेठ ३, ४ र ६ गते सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। त्यसपछि सरकारले आगामी वर्षको बजेट जेठ १५ मा ल्याउनै पर्ने संवैधानिक व्यवस्था रहेको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  ०६:०६
Weather Update