News Griha :: न्यूजगृह
सहकारी प्रकरणमा भोलिदेखि कांग्रेस भ्रातृ संस्था सडकमा  
फाइल तस्बिर।

काठमाडौं— नेपाली कांग्रेसले सहकारीमा बचतकर्ताहरूले गरेको बचत फिर्ताका लागि सदन र सडकबाट दबाब दिने भएको छ। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ।

माग पूरा नभए मंगलबार पनि सदन अवरोध गर्ने कांग्रेसको तयारी छ। यसैबीच कांग्रेसका भ्रातृ संस्थाहरू सडक प्रदर्शनमा उत्रने भएका छन्।

मंगलबार नेपाल महिला संघ र बुधबार नेपाल तरुण दलले काठमाडौंमा प्रदर्शन गर्न लागेका हुन्। नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रका अनुसार मंगलबार दिउँसो १ः३० बजे शान्तिबाटिका रत्नपार्कमा विरोध र्‍याली हुनेछ।

उनले सहकारीमा देखिएका समस्या दिगो रूपमा समाधान गर्न सरकारसँग माग पनि गरेकी छन्। यस्तै तरुण दल अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै सहकारी पीडित जनताका पक्षमा आन्दोलन सुरु गर्ने निर्णय भएको उल्लेख गरेका छन्। 

यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले सोमबार विज्ञप्ति निकाल्दै सहकारीका बचतकर्ताको बचत फिर्ता गराउन सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम घोषणा गरेका छन्।

साथै सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्बन्धित व्यक्तिहरुलाई कानुनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न पनि नेविसंघले माग गरेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २०:२६
Weather Update