-1713437358.jpg)
काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि जेठ ३ गते बिहान १०:३० बजे प्रदेश सभाको बैठक बस्ने सूचना टाँस गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।
यसअघि वैशाख २१ र २२ गते मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगन गरिएको थियो। सत्ता साझेदार नेकपा एमालेले आफूहरुको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि बैठक स्थगित गरिएको थियो।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले जेठ ३ गतेको बैठकमा मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने/नदिनेमा एमाले अझै टुङ्गोमा पुग्न नसकेको बताए। उनले भने, 'केन्द्रदेखि प्रदेश तहसम्मका सरकारको समीकरणको सन्दर्भ छ, मुख्यमन्त्रीले विश्वासको मत लिने तरिकामा भर पर्छ, विश्वासको मत लिनेले समन्वय गर्नपनि जान्नुपर्यो।'
वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त सोडारीले संविधानअनुसार एक महिनाभित्र (जेठ ५ गतेभित्र) विश्वासको मत लिइ सक्नुपर्छ । यसअघि विश्वासको मत लिने तयारी गरेका सोडारीलाई असंवैधानिक ढङ्गले मुख्यमन्त्रीमा नियुक्त गरिएको जिकिर गर्दै नेपाली कांग्रेस संसदीय दलले मुख्यमन्त्रीले विश्वासको मत लिन खोजे अवरोध सिर्जना गर्ने निर्णय गरेको थियो।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) संसदीय दलका प्रमुख सचेतक खुसीराम डगौराले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन (ह्वीप) जारी गरेका थिए। नाउपामा देखिएको आन्तरिक किचलो अझै साम्य हुन सकेको छैन। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई सदस्य, स्वतन्त्र सदस्य डा तारा जोशीको समर्थनमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
५३ सदस्यीय प्रदेश सभामा नेपाली कांग्रेसका १८, नेकपा माओवादी केन्द्रको सभामुखबाहेक १०, नेकपा एमाले को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्।