
चितवन— आइतबार चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनमा हुनसक्ने मानवअधिकार उल्लङ्घनका घटनामा अनुगमन सुरु गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा आएको टोलीले अध्ययन एवम् अनुगमनको काम सुरु गरेको हो ।
अनुगमनका क्रममा शुक्रबार टोलीले मुख्य निर्वाचन अधिकृतको कार्यालय, नेपाल पत्रकार महासङ्घ जिल्ला शाखालगायतका विभिन्न सङ्घसंस्थासँग छलफल गरेको छ ।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखामा आयोजित अन्तर्क्रिया कार्यक्रममा सदस्य ठाकुरले निर्वाचनको समयमा मानवअधिकार उल्लङ्घनका घटना सबै पक्षबाट हुने भन्दै यसप्रति सचेत रहन आग्रह गरे ।
विशेषगरी तीन प्रकारबाट मानवअधिकार उल्लङ्घनका घटना हुने उनको भनाइ थियो । मसलको प्रयोग, शक्तिको प्रयोग र आर्थिक प्रयोग गरेर निर्वाचनमा मानवअधिकार उल्लङ्घनका घटना हुने गरेको उनले बताए ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फतसमेत मानवअधिकार उल्लङ्घनका घटना भएको भन्दै उनले यसलाई नियन्त्रणका लागि मानवअधिकार आयोग मात्रै नभएर निर्वाचन आयोग र जनता स्वयं चनाखो हुनुपर्ने बताए । ‘हामीले सरकार र सरोकारवाला निकायलाई भन्ने हो, खवरदारी गरिरहेका छौं’, उनले भने ।
कार्यक्रममा आयोगका पूर्वसदस्य सुशील प्याकुरेलले सामाजिक सञ्जालमा आएका टिक्काटिप्पणीले मानसिकरुपमा प्रभावित पर्ने भन्दै यस्तो कार्यलाई तत्काल रोक्न निर्वाचन आयोगसँग माग गरिने बताए ।













