News Griha :: न्यूजगृह
मधेसमा नयाँ सरकार गठनको खेल, सबै दलको आ–आफ्नै दाबीले थपियो चुनौती
तस्बिरः एमाले नेता सञ्जीवकुमार झा

काठमाडौं— आइतबार मधेस प्रदेशबाट मुख्य दलहरु नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै त्यहाँ नयाँ सरकार गठनको खेल सुरु भएको छ। 

जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेसँगै जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले र माओवादी बाहिरिएका हुन्।

मधेसका मुख्यमन्त्री जसपा नेपालका सरोजकुमार यादव नेतृत्वको सरकार अल्पमतमा परेसँगै एमाले–माओवादीसहित लोसपा र जनमतसहितको गठबन्धन मिलेर नयाँ सरकार बनाउने तयारी थालेका छन्। 

२ दलबाट समर्थन फिर्ता भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री यादवले कि पुनः दलहरुलाई मिलाएर विश्वासको मत लिने नभए राजीनामा दिनुपर्नेछ। तर विश्वासको मत लिने संख्यात्मक ताकत नपुग्ने भएसँगै मुख्यमन्त्री यादवले मार्गप्रशस्त गरेर सरकार नयाँ सरकार गठनका लागी बाटो छाड्नुपर्ने हुन्छ। 

यता सरकार अल्पमतमा परेसँगै आइतबार नै एमाले, माओवादी, जनमत र लोसपाका नेताहरुले नयाँ गठबन्धन बन्ने भन्दै एक तस्बिर सार्वजनिक भएको छ। 

एमाले केन्द्रीय सदस्य सञ्जीवकुमार झा सुरजले आइतबार सार्वजनिक गरेको तस्बिरमा चार वटै दलका नेताहरुले एकले अर्कोसँग हातमा हात मिलाएका छन्। तर तस्बिरमा देखिएको सौहार्दता भने व्यवहारमा थप चुनौतीपूर्ण बन्ने देखिन्छ। 

मधेसको पहिलो दल रहेको एमालेले सरकारको नेतृत्व गर्ने तयारी गरिरहेको छ। भने केन्द्रीय गठबन्धनमा सामेल नभए पनि प्रदेशमा गठबन्धन बनाएर सरकारको नेतृत्व गर्ने तयारी जनमत पार्टीको रहेको छ। 

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री यादवले राजीनामा दिएपछि आफूहरु मिलेर सरकार बनाउने तयारीमा रहेको जनमत पार्टी मधेस प्रदेश संसदीय दलका नेता महेशकुमार यादवले न्यूजगृहलाई जानकारी दिए। यसअघि पनि आफूहरुले सरकारको नेतृत्वका लागि दाबी गरिरहेको भन्दै आफूहरु सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारीमा रहेको उनले बताए। आफूहरु केन्द्रीय गठबन्धनमा नभए पनि माथि कुरा चलिरहेको र माथिबाट निर्णय आएपछि दाबी गर्ने बताए। 

‘यसअघि पनि हामीले सरकारको नेतृत्वका लागि दाबी गरेकै हौँ, मधेसवादी दलमध्ये हाम्रो सिट राम्रो छ। माथि पनि सो विषयमा कुरा भइरहेको छ। हामी सरकारको दाबी गछौँ,’ उनले भने। 

यता नेकपा एमालेले पनि आफ्नो दाबी कायमै राख्ने भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिएको एमालेले मधेसको ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा स्वभाविक दाबी रहेको धारणा अघि सार्दै आइरहेको छ। 

नयाँ सरकार गठनका लागि आफूहरुले छलफल चलाइरहेको मधेस प्रदेश एमाले प्रमुख सचेतक हरिनायारण यादवले न्यूजगृहलाई जानकारी दिए। 

‘४ दल मिलेर सरकार बनाउने तयारी छ। मधेसमा ठूलो दलको हिसाबले पनि हाम्रो सरकारको नेतृत्वका लागि दाबी स्वभाविक रहन्छ,’ उनले न्यूजगृहसँग भने। 

यसरी हेर्दा मधेसमा नयाँ सरकार गठनका लागि दलहरुको आ–आफ्नै दाबीका कारण अन्योल पर्ने देखिन्छ। 

१०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ मत आवश्यक पर्दछ। मधेसमा एमालेका २५, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र लोसपाका ८ प्रदेश सभा सदस्य रहेका छन्।  

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १७:४७
Weather Update