News Griha :: न्यूजगृह
भोलि नीति तथा कार्यक्रमः  अप्ठेरोमा सरकार, धर्मसंकटमा प्रतिपक्ष

काठमाडौं— जेठ १ गते मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने कार्यसूची छ।

संसद् सचिवालयले भोलि अपरान्ह्र ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत हुने तालिका प्रकाशन गरेको छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने अडान दोहोर्याएको छ। सरकार र प्रमुख प्रतिपक्षवीच यस सम्बन्धमा कुनै सहमति नबने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका प्रभावित हुने आशंका गरिएको छ। 

आज कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको छ। 

यता, आज बिहान सभामुख देवराज घिमिरेले राजनीतिक सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका थिए। उनीहरुबीच भएको फोनवार्तामा प्रमुख प्रतिपक्षलाई मनाएर सदनको कामकारबाही सहज पार्न सभामुखले सुझाएका थिए। सभामुख घिमिरेले नीति तथा कार्यक्रमबारे भएको कुराकानीमा सभामुखले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए।

सभामुख घिमिरेले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नरहेको भन्दै राजनीतिक सहमतिमा जोड दिए। तर कांग्रेसले संसदीय छानविन समिति आफ्नो प्रमुख बटमलाइन बनाएपछि प्रधानमन्त्री अफ्ठयारोमा परेका छन्। कांग्रेस नेता एवम प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कांग्रेसले आफ्नो अडान यथावत राखेको जानकारी दिंदै साँझसम्ममा नयाँ रणनीति बन्ने बताए।

संसदीय छानबिन समिति बनाउन सकारात्मक देखिएका प्रधानमन्त्री एमालेको दबाबमा परेको निकट स्रोतले जनाएको छ।

एमाले संसदीय छानबिन समितिको विपक्षमा उभिएपछि प्रधानमन्त्री चेपुवामा परेको बताइन्छ। एमाले प्रमुख सचेतक महेश बर्तौलाले आइतबार मात्रै कांग्रेसले आत्महत्या नै गर्छु भनेपनि माग पुरा गर्न नसकिने बताएका थिए।

तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गराउने प्रयासमा आफू रहेको बताएका छन्। ‘संसद्को गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेतासँग म संवादमा नै छु, संसद्को गतिरोध अन्त्य हुन्छ,’ उनले भनेका छन्।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा संसद्मा सबै तयारी पूरा भइसकेको अवस्था छ। तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उनको विषयमा छानबिन गर्न समिनि बनाउनुपर्ने माग अघि सार्दै आइरहेको छ। यसअघि अघिल्लो संसद् अधिवेशन र शुक्रबारबाट सुरु भएको बजेट अधिवेशनमा समेत कांग्रेसले अवरोध खडा गरेपछि सहमतिको प्रयास भइरहेको छ। सोमबार नै सभामुख घिमिरेले प्रधानमन्त्रीसहित कांग्रेस सभापति देउवा र गृहमन्त्री लामिछानेसँग समेत संवाद गरेका छन्। 

यता प्रधानमन्त्री प्रचण्डले सरकारले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइसकेको जनाउँदै उनले राष्ट्रपतिको सम्बोधनमा संसद्मा कुनै  समस्या नहुने बताए। 

सोमबार चितवनका विभिन्न कार्यक्रममा रहेका प्रधानमन्त्री अपरान्ह काठमाडौं फर्किएर कांग्रेस नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १६:२७
Weather Update