-1715587198.jpg)
काठमाडौं— नेपाली कांग्रेसले कोशी प्रदेश सभाको बैठक बहिस्कार गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि अहिले कोशी प्रदेश सभाको बैठक बसिरहेको छ। तर नेपाली कांग्रेस भने बैठकमा अनुपस्थित रहेको छ।
गत बैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीेले आज विश्वासको मत लिन लागे पनि कांग्रेसले बैठक बहिस्कार गरेको हो।
यता प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागि रहेको छ।
कोशी प्रदेश सभामा कांग्रेसका २९ प्रदेश सभा सदस्य रहेका छन्। भने राप्रपाका ६ प्रदेश सभा सदस्य रहेका छन्। कांग्रेस र राप्रपाबाहेक अन्य दलहरु नेकपा एमालेसहित माओवादी केन्द्र, एकीकृत समाजवादीले भने मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिनेछन्।
कोशी प्रदेश सभामा बहुमतका लागि ४७ मतको आवश्यक्ता पर्दछ। जहाँ नेकपा एमालेका ४०(उपसभामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसको २९, एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ (सभामुखसहित) र जनता समाजवादी पार्टीको एक सिट रहेको छ।