News Griha :: न्यूजगृह
कांग्रेसको चट्टानी अडान– संसदीय समिति नभए नीति तथा कार्यक्रम प्रस्तुत हुन दिन्नौँ 
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिनका लागि समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ। 

सोमबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकमा पनि यसअघिकै मागलाई निरन्तरता दिने निर्णय गरेको हो।  

मंगलबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

तर सरकारले संसदीय छानबिन समितिको माग सम्बोधन नभएमा भोलिको बैठकमा पनि अवरोध खडा गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले न्यूजगृहलाई जानकारी दिए। आफूहरुको माग यथावत रहेको र सरकारले समाधानको पहल नगरेका कारण बैठकमा आफूहरु पूर्ववर्ती रुपमै प्रस्तुत हुने उनले बताए।

‘हाम्रो माग यथावत रहेको छ। सरकारले छानबिन समिति बनाउने छाँटकाँट देखाएको छैन,’ उनले भने, ‘छानबिन समितिको हाम्रो मागबारे सरकार गम्भीर भए संसद् चल्छ, नत्र चल्दैन।’ 

सहकारीको अपचलनमा वर्तमान गृहमन्त्री लामिछाने मुछिएको आरोप लगाउँदै कांग्रेसले यसअघि संसद्का सबै बैठकमा निरन्तर आवाज उठाउँदै आइरहेको छ। कांग्रेसको अवरोधका कारण बैठक बस्न नसकेपछि सभामुखदेखि प्रधानमन्त्रीसम्मले समाधानको पहल थालिरहेका छन्। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १२:१२
Weather Update