
काठमाडौं— सभामुख देवराज घिमिरेले संसद्मा जारी गतिरोध अन्त्य लगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्।
सोमबार बिहान सभामुख घिमिरेले प्रधानमन्त्रीसँग फोनवार्ता गरी नीति तथा कार्यक्रमका विषयमा छलफल गरेका हुन्।
उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्मा प्रस्तुत हुने नीति तथा कार्यक्रमको तयारीबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
छलफलका क्रममा प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको विपक्षीका मागबारे आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गरे।
प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताउँदै आइतबार राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति मार्फत् छानबिन अघि बढाउनुपर्ने माग अघि सार्दै आइरहेको छ। त्यस्तै यसअघिका बैठकमा कांग्रेसले निरन्तर अवरोध सिर्जना गरेपछि सभामुखदेखि प्रधानमन्त्रीसम्मले वार्ताका माध्यमबाट सहमतिमा लैजाने प्रयास गरिरहेका छन्।
त्यसो त संसद्को गतिरोध अन्त्यका लागि आइतबार सभामुख घिमिरेले कानन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेक थिए। उनले नीति तथा कार्यक्रम र बजेटलाई राजनीतिक दाउपेचभन्दा टाढै राख्न सुझाव दिएका थिए। उनले नीति तथा कार्यक्रम संसद्भन्दा बाहिरबाट ल्याउने परिकल्पना र अभ्यास नभएको उल्लेख गर्दै राजनीतिक सहमतिमा जोड दिँदै
आइरहेका छन्।
सभामुखले नीति तथा कार्यक्रम र बजेटमा विगतका बिर्सनलायक घटनालाई पुनरावृत्ति नगर्न समेत दलहरूको ध्यानाकर्षण गराएका थिए।
त्यसो त प्रधानमन्त्री प्रचण्डले पनि आइतबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए। तर कांग्रेसले आफ्नो मागबाट पछि नहटेपछि आज साँझसम्म सहमतिमा पुर्याएर छाड्ने प्रधानमन्त्रीको बचन रहेको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार ल्याउँदैछ। नीति तथा कार्यक्रममा समेत कांग्रेसले अवरोध गर्ने संकेतपछि प्रधानमन्त्रीदेखि सभामुखसम्मले छलफललाई तिव्रता दिएका हुन्।