News Griha :: न्यूजगृह
कोशी प्रदेशमा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत दिने 

काठमाडौं— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने भएको छ। 

गत बैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। 

उनको दल नेकपा एमालेको ३९ र माओवादी केन्द्रको १३ प्रदेश सभा गरी ५२ जनाको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए। सरकार गठनका बेला समर्थन नगरे पनि आफूहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र राईले न्यूजगृहलाई जानकारी दिए। 

आफू काम विशेषले काठमाडौंमा रहे पनि दलमा मुख्यमन्त्रीलाई विश्वासको मत दिने ह्विप जारी गरेको बताए। 

‘मुख्यमन्त्रीलाई हाम्रो पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेको छ। म काम विशेषले काठमाडौंमा रहेको छु तर साथीहरुलाई विश्वासको मत दिन भनेको छु,’ उनले भने।

कोशी प्रदेश सभामा बहुमतका लागि ४७ मतको आवश्यक्ता पर्दछ। जहाँ नेकपा एमालेका ४०(उपसभामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसको २९, एकीकृत समाजवादीको ४, राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ (सभामुखसहित) र जनता समाजवादी पार्टीको एक सिट रहेको छ। 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:४३
Weather Update