
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदैछ। आज गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीच खेल हुन लागेको हो।
अहमदाबादमा हुने यो खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ। जारी आईपीएलमा कोलकाता प्लेअफका लागि छनौट भइसकेको छ। कोलकाताले १२ खेलमा १८ अंकसहित शीर्ष स्थानमा रहेको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।
त्यसैगरी गुजरातले भने अहिलेसम्म १२ खेलमा ५ खेल मात्र जितेको छ र अंक तालिकामा १० अंकसहित आठौँ स्थानमा छ। गुजरातका लागि अब बाँकी खेल जितेमा मात्र प्लेअफमा स्थान बनाउने सम्भावना रहेकाले यो खेल जित्नै पर्ने दबाबमा छ।
गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ। गुजरातले टिम स्थापनाको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ।
यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ।
त्यसैगरी कोलकोता श्रेयस अय्यरको कप्तानीमा खेल्दै छ। कोलकाताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ। विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्याकमा नपरेका श्रेयसले आईपीएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन्। त्यस्तै उनी बाहेक गत आईपीएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन्।
त्यस्तै फिल साल्ट, सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ। कोलकाताले यसअघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ। गत सिजनमा कोलकाता सातौँ स्थानमा आएको थियो।