
हेटौँडा— बागमती प्रदेश सभाको बैठक सोमबार बस्दै छ। बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोमबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वान गरेका छन्।
बजेट अधिवेशनको रुपमा समेत आह्वान गरिएको प्रदेश सभाको आजको बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरूले शुभकामना मन्तव्य दिने कार्यसूची तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ।
यस्तै आजको बैठकमा बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले प्रदेश उच्च शिक्षा ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश प्रस्तुत गर्ने कार्यसूची तय भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए।
प्रदेश सभाको बैठक अघि बसेको प्रदेश कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा बैठकको कार्यसूची तय गरेको थियो। यही प्रदेशसभा अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा बजेट पारित गर्नेछ। प्रदेश सभाको हिउँदे अधिवेशन गत वैशाख १२ गते राति १२ बजेदेखि प्रदेश प्रमुख शर्माले अन्त्य गरेका थिए।
विषयगत समितिको सभापति चयन चाँडै
रिक्त रहेको बागमती प्रदेश सभाअन्तर्गतको पाँच वटा विषयगत समितिका सभापति पदका लागि आगामी जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको छ। प्रदेश सभाअन्तर्गतको पाँचवटै समितिको सभापति पदमा सर्वसम्मतको प्रयास भए पनि अझै सहमति नहुन नसकेपछि जेठ ४ गते निर्वाचन गर्ने दलहरूबीच सहमति भएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। सभापति पद सर्वसम्मत चयन गर्ने सहमतिको प्रयास जारी रहेको र त्यो नभए जेठ ४ गते निर्वाचन गर्ने सहमति भएको उनले बताए।
प्रदेश सभाको आज बस्ने बैठक अघि प्रदेशसभा कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्ने र सहमति गरिए अनुसार विभिन्न समितिको सभापति पदका लागि निर्वाचनको प्रक्रिया सुरु गरिने सभामुख पाठकले बताए।
बागमती प्रदेश सभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ। ती सबै समितिमा सभापति चयन हुन सकेको छैन।