
काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा लगातार पाँचौँ जित हासिल गर्दै रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) अकं तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। आइतबार भएको खेलमा टोलीले दिल्ली क्यापिटल्समाथि ४७ रनको शानदार जित हासिल गरेको हो।
बैंगलुरुले प्रस्तुत गरेको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.१ ओभरमा १ सय ४० रनमा अलआउट हुन पुग्यो। दिल्लीका लागि कप्तान अक्षर पटेलले ३९ बलमा सर्वाधिक ५७ रनको योगदान दिए।
त्यस्तै, साई होपले २९ रन तथा जेक फ्रेजर म्याकगर्कले ८ बलमा २१ रन बनाए । रसिख सलामले १० रन बनाउनबाहेक अन्य ब्याटरले दोहोरो अकंमा रन जोड्न सकेनन्।
बैंगलुरुका लागि यश दयालले ३ विकेट तथा लोकी फर्गुसनले २ विकेट लिए। स्वपनील सिंह, मोहम्मद सिराज र क्यामरुन ग्रिनले एक/एक विकेट हात पारे।
यसअघि, पहिलो ब्याटिङ गरेको बैंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो। टोलीका लागि रजत पटिदारले ३२ बलमा ५२ रनको योगदान दिए।
त्यसैगरी विल ज्याक्सले २९ बलमा ४१ रन हिर्काए। क्यामरुन ग्रिनले नटआउट रहँदै ३२ रन तथा विराट कोहलीले २७ रन बनाए। दिल्लीका लागि खलिल अहमद र रसिक सलामले २–२ विकेट लिए। इशान्त शर्मा, मुकेश कुमार र कुल्दीप यादवले १–१ विकेट हात पारे।
१३ खेलपछि बैंगलुरु १२ अकंसहित तालिकाको पाँचौँ स्थानमा छ। दिल्ली समान अकंसहित छैटौँ स्थानमा छ। दिल्लीभन्दा बैंगलुरुको नेट रनरेट राम्रो रहेको छ।