काठमाडौं— हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका एक/दुई स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।
सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेश र बाँकी पहाडी भूभागको एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
पछिल्लो २४ घण्टामा कहाँ कति पर्यो पानी?
पछिल्लो एक घण्टामा लमजुङमा अलि बढी पानी परेको छ। लमजुङको कुन्छामा ३४.४ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ भारी वर्षा भएको मापन भएको छ। २४ घण्टाको अवधिमा कुन्छा क्षेत्रमा ८०.२ मिलिमिटर वर्षा भएको छ।
सिन्धुपाल्चोकको ढुंगेमा ४४.८, ओखलढुंगामा ४९.४, सप्तरीको बरमझियामा ४५.२, इलाममा ४५.४, झापाको कचनकबलमा ४४.६ पानी परेको छ।