-1715516754.jpg)
काठमाडौं— मधेस प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ।
मुख्यमन्त्री यादव नेतृत्वको मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार बनाउने खेल सुरु हुन थालेको छ।
यसैबीच मधेसमा एमाले नेतृत्वको सरकार बन्ने चर्चा चल्न थालेको छ। माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतसहितको समर्थनमा नयाँ सरकार बन्ने एमालेका केन्द्रीय सदस्य सञ्जीव कुमार झा (सुरज)ले जानकारी दिए।
उनले सामाजिक सञ्जालमा चारै दलका नेताहरुले एकले अर्कोको हातमा हात मिलाएको तस्बिर सार्वजनिक गरेका छन्।
उनले तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको नेतृत्वमा अब माओवादी केन्द्र , लोसपा र जनमतसहितको नयाँ गठबन्धनको मधेस प्रदेश सरकार बन्ने।’
१०७ सदस्यीय मधेस प्रदेशमा बहुमतका लागि ५४ मत आवश्यक पर्दछ। मधेसमा एमालेका २५, माओवादी केन्द्रका ९, जनमत पार्टीका १३ र लोसपाका ८ प्रदेश सभा सदस्य रहेका छन्।