News Griha :: न्यूजगृह
प्रचण्ड सरकारबाट बाहिरिने तयारीमा जसपा नेपाल

काठमाडौं— उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट बाहिरिने तयारी गरेको छ।

नेकपा एमाले र माओवादी केन्द्रले मधेस सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो।

जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल भइरहेको बताए। यस विषयमा केन्द्रीय समिति बैठकमा निर्णय लिइने पनि उनले बताए।

पार्टी प्रवक्ता मनिष सुमनका सोमबार बिहान ११ बजे केन्द्रीय समिति बैठक बस्नेछ। महाधिवेशन तयारी र समसामयिक राजनीतिक घटनाक्रमबारे केन्द्रीय समितिमा छलफल गरी आवश्यक निर्णय लिइने उनले जानकारी दिए।

अध्यक्ष यादवले आइतबार नै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेका थिए। छलफल सकारात्मक नभएपछि एमाले र माओवादी केन्द्रले मधेस सरकार छोडेका हुन्। 

माओवादी केन्द्रले सरकार छोडेसँगै मधेस प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ।
जसपा नेपालका प्रतिनिधि सभामा ५ सांसद छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १८:११
Weather Update