News Griha :: न्यूजगृह
सुडानमा युद्धविरामका लागि बाह्य दबाव

खार्तुम— सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब तीन सय जनाले ज्यान गुमाएपछि युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक दबाव बढाएको हो ।

संयुक्त राष्ट्रसंघ, अमेरिकालगायत अन्य देशले मुस्लिम समुदायको चाड इद उल फित्रका अवसरमा तीन दिने युद्धविरामका लागि दबाव दिइरहेका छन् । आरएसएफले मानवीय आधारमा ७२ घण्टाको युद्धविराममा सहमति जनाएको छ तर सेनाका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसबाट भएको युद्धविरामको आह्वानले अस्थायी युद्धविरामको आशा गरिएको छ । बेलायत, युरोपेली सङ्घ, रुस र चीनले पनि तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन् ।

शुक्रबार बिहानैदेखि युद्धविराम लागु गर्ने आरएसएफले बताएको छ तर राजधानी खार्तुममा गोली र विष्फोटका आवाज बन्द भएका छैन । यसअघि दुईपटक गरिएको युद्धविरामको प्रयास सफल हुन सकेन ।

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बललाई सरकारी सेनामा समाहित गर्ने गत वर्ष बुहारन र डगालोबीचको सहमति कार्यान्वयन नहुँदा युद्ध चर्केको हो । सेनाप्रमुख बुहारनले आरएसएफसँगको वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् ।

राष्ट्रसंघका अनुसार युद्धको विभीषीकाबाट बच्न करिब २० हजार सुडानी छिमेकी चाडतर्फ पलायन भएका छन् । यसरी आफ्नो थातथलो छाडेर भाग्नेमा महिला र बालबालिका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १८:०३
Weather Update