News Griha :: न्यूजगृह
कांग्रेसको मागबारे प्रधानमन्त्री प्रचण्ड भन्छन्– भोलि साँझसम्म हामी निष्कर्षमा पुग्छौँ 
फाइल तस्बिर

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अघि सारेका मागमा आफू गम्भीर रहेको बताएका छन्। 

सदनमा भइरहेको अवरोध हटाउने प्रयास स्वरुप आज कांंग्रेससँगको छलफलपछि प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आजको छलफल निष्कर्षमा नपुगेपनि सोमबार साँझसम्म एउटा निष्कर्षमा पुगेर नीति तथा कार्यक्रम सहज ढंगले अघि बढाउने गरी छलफल अघि बढेको विश्वास व्यक्त गरे।

‘प्रमुख प्रतिपक्षसँग गम्भीरतापूर्वक छलफल भएको छ। निष्कर्षमा नपुगे पनि भोलि साँझसम्म सहमतिको बिन्दुमा पुगेर नीति तथा कार्यक्रम सहज ढंगबाट अघि बढ्ने वातावरण बन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै नेपाली कांग्रेसले निरन्तर संसदमा अवरोध गर्दै आइरहेको छ। गृहमन्त्री लामिछानेको विषयमा छानबिन गर्ने संसदीय छानबिन समिति माग गरिरहेको कांग्रेसले शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशन नै अवरुद्ध गरेपछि प्रधानमन्त्रीले संवाद थालेका हुन्। 

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:१७
Weather Update