बागलुङ— बागलुङको उच्च पहाडी क्षेत्रमा पर्ने रमुवा गाउँ आलुखेतीका लागि प्रख्यात छ। गलकोट नगरपालिका– १० मा पर्ने यो गाउँका स्थानीयले आलुखेतीबाटै जीविकोपार्जन गर्दै आएका छन्। आलु र भांगो एकै ठाउँमा उत्पादन गर्न सकिने हुँदा किसानले बढी लाभ लिएका छन्।
रमुवामा हरेक वर्ष ४० देखि ५० हजार क्विन्टल आलु उत्पादन हुने गरेको छ। प्रांगारिक मल प्रयोग गरेरै एकै परिवारले वार्षिक तीन हजारदेखि पाँच हजार क्विन्टलसम्म आलु उत्पादन गर्छन्। यो गाउँमा करिब १३० परिवार स्थायी रूपमा बसोबास गर्छन्।
त्यसमध्ये अधिकांशले भेडाबाख्रा र गाईभैँसीपालन गर्ने हुँदा मलको कुनै समस्या छैन। गाउँमा खाद्यबाली उत्पादन कम हुँदा वर्षभरि खान पुग्दैन। त्यसले गर्दा भांगो र आलुसँग चामल साटेर गुजारा चलाउनुपर्ने स्थिति छ। पालिकाको केन्द्र गलकोटसम्म पुग्ने सडक स्तरोन्नति भए आलु बजारीकरणमा कुनै समस्या नहुने गलकोट नगरपालिका–१० रमुवाका तिलक घर्तीमगरले बताए।
वर्षौँ पहिलेदेखि नै यहाँका नागरिक आलुखेतीमा लाग्दै आएका हुन्। प्रविधिको विकास भए पनि आफूहरूले परम्परागत रूपमा प्राङ्गारिक आलु उत्पादन गर्ने स्थानीय दिव्या रानाले बताए। हरेक वर्ष एकै परिवार ५० देखि १०० मुरी सम्म आलु फलाउने उनले जानकारी दिए। रमुवामा उत्पादन हुने आलु गलकोट, बागलुङ, पोखरा, काठमाडौं, चितवनलगायतका ठाउँमा पुग्छ। समुद्री सतहबाट दुई हजार २०० मिटरभन्दा माथिको उचाइमा रहेको रमुवामा धान, गहुँ भने उत्पादन हुँदैन।
तर भौगोलिक विकटताका कारण उत्पादित सामग्री बजारसम्म पुर्याउन समस्या छ। रमुवामा २०६५ मा स्थानीयको लगानीमा सडक निर्माण भएको थियो। सडक हालसम्म पनि स्तरोन्नति हुनसकेको छैन। गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले रमुवालाई आलु पकेट क्षेत्र घोषणा गरेर उत्पादन वृद्धिमा लागेको जानकारी दिए। किसानलाई आलुखेती तर्फ अझ प्रोत्साहन गर्न कृषिसम्बन्धी तालिम र आवश्यक प्राविधिक सहयोग गर्दै आएको उनले बताए। अब नगरपालिकाले उत्पादनका आधारमा किसानलाई अनुदान दिने नीति रहेको उनको भनाइ छ।
हाल सडक कच्ची भए पनि आलु बजारसम्म पुर्याउन समस्या नभएको बताउँदै उनले उत्पादित आलुले बजार नपाए पालिकाले नै जिम्मा लिने स्पष्ट पारे। किसानलाई प्रविधिसँग जोडेर उत्पादन बढाउनेतर्फ पालिका लागेको उनले बताए। आलुलाई ‘ब्रान्डिङ’ गर्ने पालिकाको योजना पनि उनले बताए।