-1715339816.jpg)
काठमाडौं — संसद्मा उत्पन्न गतिरोध अन्त्य गर्न प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादमा जुटेका छन्।
समस्याग्रस्त सहकारीको रकम अपचलन बारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्खे अधिवेशनको पहिलो दिन शुक्रबार दुवै सदनमा कार्यसूची प्रभावित भएका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार सत्तारुढ नेकपा एमालेलगायत दलका नेतासँग सहमतिको उपायबारे अनौपचारिक संवाद गरेका उनको सचिवालयले जनाएको छ।
यही विषयमा नेपाली कांग्रेसले पनि आन्तरिक छलफल गरेको छ। कांग्रेस पदाधिकारी बैठकले आफूहरूले संसद्को गतिरोध अन्त्य गर्ने कुरामा लचकता राख्दाराख्दै पनि सरकार र सभामुख संवेदनशील नभएको निष्कर्ष निकालेको छ।
कांग्रेसले गृहमन्त्री लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएकोबारे निष्पक्ष र स्वतन्त्र छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग पुनः अघि सारेको छ।
सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अहिलेसम्म सहमतिका लागि ठोस प्रगति नभए पनि अब सदनको बैठक बस्ने दिनसम्म सरकारले सहमतिका लागि कुनै न कुनै उपाय निकाल्ने आशा व्यक्त गरे।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि शीर्ष तहबाट छलफल भई निकास निस्कने आशा व्यक्त गरे। संसदीय समिति गठन गर्न सत्तापक्ष तयार नभएसम्म सदनका बैठक चल्न नदिने अडान राखेपछि बर्खे अधिवेशनको पहिलो दिनकै बैठकको कार्यसूची प्रभावित भयो।
आगामी जेठ १ गते दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भइसकेको छ।
प्रतिनिधि सभाको अर्को बैठक आगामी जेठ १ गते साँझ ६ बजे र राष्ट्रिय सभाको अर्को बैठक जेठ १ गते साँझ ५:३० बजे राखिएको छ।