News Griha :: न्यूजगृह
कांग्रेसको अडानले अन्योलमा संसद् बैठकः जुटेन सहमति, पुनः छलफल हुँदै  
फाइल तस्बिर

काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि आजबाट सुरु हुने संसद्को बजेट अधिवेशन सुरु हुन ढिलाइ भएको छ।  

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कांंग्रेसले कायमै राखेको छ। 

शुक्रबार कार्य व्यवस्था तथा परामर्श समितिको बैठक अघि सभामुख देवराज घिमिरेले कांग्रेससँग छलफल गरेका थिए। तर कांग्रेसले छानबिन समिति नभए संसद्को नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने अडान कायमै राखेको छ।  

Prabhu Bank

बैठकमा कांग्रेसले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र बाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने दिने र अन्य नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएको सभामुखको सचिवालयले जनाएको छ। 

‘कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै बाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्न दिने र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन,’ सचिवालयले भनेको छ। 

यसबीचमा सभामुखले संसद्को अवरोध हटाउन राजनीतिक दलका  प्रमुख सचेतक र सचेतकहरुसँग समेत छलफल गरेका छन्। कांग्रेस आफ्ना पूर्ववर्ती मागबाट पछि नहटेपछि प्रमुख सचेतक तथा सचेतकहरु आ–आफ्ना शीर्ष नेताहरुसँग छलफलका लागि गएका छन्।  

सभामुखको सचिवालयका अनुसार शीर्ष नेताहरुसँग छलफलपछि पुनः बैठक बस्ने र त्यसपछि मात्रै कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ । 

‘नेताहरु उठेर आ–आफ्ना शीर्ष नेताहरुसँग छलफल गर्न जानुभएको छ। यसपछि पुनः बैठक बस्छ। त्यसपछि कार्यव्यवस्था बैठक बस्छ,’ सभामुखको सचिवालयले भनेको छ। 

संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा अन्योलता देखिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:३५
Weather Update