News Griha :: न्यूजगृह
जसपा फुटले मधेस सरकार सङ्कटमा
सरोजकुमार यादव/फाइल तस्बिर।

जनकपुर— सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) नेपालमा भएको विभाजनले मधेस प्रदेश सरकार सङ्कटमा परेको छ। मधेसमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका सरोजकुमार यादव मुख्यमन्त्री छन्। अशोक राई नेतृत्वको जसपा सत्ता गठबन्धनमा जोडिएपछि मधेसमा नेकपा एमाले र माओवादी केन्द्रले सरकार छोड्ने तयारी तरखरमा छन्। 

पार्टी विभाजनले केन्द्रमा कमजोर बनेका उपेन्द्रलाई मधेसमा आफ्नो दल नेतृत्वको सरकार जोगाउन हम्मे परेको छ। एमाले र माओवादी केन्द्रले भने मधेसमा नयाँ सरकार बनाउन कसरत सुरू गरिसकेका छन्। एमाले र माओवादी केन्द्रका नेताहरूबीच बिहीबार प्रदेश सरकारको नेतृत्व कसले लिने भन्ने विषयमा समेत छलफल भएको छ। 

मुख्यमन्त्री सरोजकुमार यादव पनि आफ्नो सरकार बचाउन लबिङ गरिरहेका छन्। त्यसो त अहिले जसपा विभाजनको असर मधेसमा कस्तो पर्छ भन्ने प्रष्ट भइसकेको छैन। १ सय ७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ। 

Prabhu Bank

यादव नेतृत्वको सरकारलाई अहिले जसपासहित एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन छ। यादवलाई एमालेका २४, माओवादीका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्तिका १ र जसपा नेपालका १९ गरी ६१ सांसदले विश्वासको मत दिएका थिए।

जसअनुसार हाल विपक्षमा कांग्रेसका २२, जनमतका १३, लोसपाका ९, राप्रपाका १ र रिजवान अन्सारीको नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन्। त्यसआधारमा यहाँ ४६ सांसद छन्। जसपा नेपालमा भएको विभाजनपछि मधेसमा कुन दलमा कति सांसद रहन्छन् भन्ने निश्चित छैन। जसपा विभाजनले आउने परिणामले नै मधेसमा कसको सरकार बन्ने भन्ने निर्धारण देखिन्छ। 

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले एमाले र माओवादी केन्द्रबीच नयाँ सरकार गठनका लागि छलफल सुरू भएको बताए। ‘अहिले प्रारम्भिक छलफल भएको छ। नेतृत्व कसले लिने भन्नेबारेमा छलफल गरिरहेका छौँ,’ बिहीबारको छलफलपछि उनले भने, ‘केन्द्रका नेताहरूको समेत राय बुझेर अघि बढ्छौँ।’

प्रदेशमा एमाले र माओवादीले सरकार छोड्ने तयारी गरेपनि केन्द्रमा भने जसपा नेपालका अध्यक्ष यादवले सरकार छोड्ने वा सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छैनन्। उनले बुधबार पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारले पार्टीले दिएको समर्थन कायम रहने बताएका थिए। तर बिहीबारको मन्त्रिपरिषद् बैठकमा भने यादव सहभागी भएनन्। मधेसमा भने एमाले र माओवादी केन्द्रले जसपा नेपाललाई छोडेर जनमतसँग संवाद गर्ने तयारी गरेको बुझिएको छ। यस्तोमा केन्द्रमा समेत जनमत सरकारमा सामेल हुन सक्ने नेताहरूले बताएका छन्। 

नवगठित जसपाका महासचिव मोहम्मद इस्तियाक राईले भने मधेसमा पनि आफूहरूकै बहुमत हुने दाबी गरे। ‘मधेसमा फेरि पनि केन्द्रीय गठबन्धनकै सरकार हुन्छ। हामीले मधेसमा पनि बहुमत जुटाउँछौँ, अहिलेको सरकार अब रहदैन,’ उनले भने।  

२०७९ पुस २७ मा मधेसको मुख्यमन्त्री बनेका यादव त्यसयता निरन्तर मुख्यमन्त्री छन्। उनले पछिल्लो पटक गठबन्धन फेरबदल भएपछि चौथो पटक विश्वासको मत लिएका थिए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०९:२९
Weather Update