News Griha :: न्यूजगृह
संसद्को बजेट अधिवेशन आजबाट
फाइल तस्बिर।

काठमाडौं— संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने छ। आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ।

यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनको जानकारी पनि गराउने छन्। त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन्।

Prabhu Bank

विगतमा बजेट अधिवेशनमा ‘प्रि–बजेट’ छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमै छलफल पूरा भइसकेको छ।

सरकारले प्रत्येक वर्ष जेठ १५ गते वार्षिक आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। निर्वाध सदन सञ्चालनका निम्ति सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग मंगलबार बैठक गरेका थिए।

तर सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेस र गर्न नहुने पक्षमा रहेका सत्ता साझेदार दलका नेताहरू आआफ्नै अडानमा कायम रहेपछि बैठक निष्कर्षविहीन भएको थियो।

प्रमुख विपक्षी दल कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ०६:१४
Weather Update