News Griha :: न्यूजगृह
खेलाडी र प्रशिक्षकलाई ३ करोड नगद पुरस्कार, क्रिकेटले २ करोड ५ लाख पाउने

काठमाडौं— बिहीबारको मन्त्रिपरिषद् बैठकले खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार दिने गर्ने निर्णय गरेको छ।

युवा तथा खेलकुद मन्त्रालयले पेस गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै १९औं एसियन गेम्समा पदक विजेता, क्रिकेट टिम र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कार पाउने भएका हुन्।

Prabhu Bank

आईसीसी मेन्स टी२० वर्ल्ड कप फाइनलमा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कुल २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।

१५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देसाइले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ नगद हात पार्नेछन्।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाउन सफल एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले दुई लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्यले एक लाख ९५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एसियन गेम्समा रजत विजेता कराते टिमले कुल २५ लाख ३५ हजार प्राप्त गर्नेछ। एसियाली खेलकुदमै कबड्डीमा काश्य जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही तीन लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले दुई लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णुदत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही एक लाख ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसरी कबड्डी टिमले कुल ४८ लाख दश हजार रुपैयाँ नगद प्राप्त गर्नेछ।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा काश्य जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख रुपैयाँ प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले दुई लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले एक लाख ३० हजार प्राप्त गर्नेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १९:३५
Weather Update