News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डसँग भेटेपछि एमाले अध्यक्ष ओलीले भने– अहिलेसम्म त्यस्तै–त्यस्तै छ
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

शुक्रबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । सो भेटको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासाको संक्षिप्तमा जवाफ दिँदै अध्यक्ष ओलीले समसामयिक विषयमा कुराकानी भएको बताए । 

उनले भने, ‘अहिलेसम्म त्यस्तै–त्यस्तै छ । विभिन्न समसामयिक विषयमा कुराकानी भयो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालसँगको भेटपछि एमाले संसदीय दलको कार्यालयमा आएर संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलगायत नेताहरूसँग पनि छलफल गरेका थिए । 

प्रधानमन्त्री दाहाल र ओलीबीचको भेटवार्ताको बारेमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक गिरीले संसदीय समितिलाई छिटोभन्दा छिटो गठन गर्ने विषयमा दुई नेताबीच कुराकानी भएको बताए । 

छलफल भएपनि कुनै निष्कर्ष भने ननिस्किएको ब्रिफिङ अध्यक्ष ओलीले आफूहरूसमक्ष गरेको उनको भनाइ छ । 

‘खासगरी अहिले विषयगत समिति र संयुक्त समिति जुन छन्, कसरी यो समस्यालाई हल गर्ने, छिटोभन्दा छिटो कसरी समिति निर्माण गरेर काम अगाडि बढाउने भन्ने विषयमा छलफल भयो । छलफल सघन ढंगले नै भयो तर, पनि निस्कर्ष केही भएको छैन,’ उनले भने, ‘त्यही ढंगले छलफल गर्‍यौँ मात्रै भन्नुभयो । विषयगत समिति र संयुक्त समितिमा नै विशेषगरी छलफल केन्द्रित थियो । त्यस विषयमा छलफल चाहिँ भयो । निष्कर्ष केही भएन भन्ने कुरा राख्नुभयो ।’

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १३:४४
Weather Update