News Griha :: न्यूजगृह
हालको बजेटले लुडो, चेस र बाघचालको मात्र विकास गर्न सक्छ: मन्त्री श्रेष्ठ

काठमाडौं— युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल जस्ता खेलहरु मात्र विकास गर्न सकिने टिप्पणी गरेका छन्। 

बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री श्रेष्ठले देशको बजेटभन्दा बढि खेलकुद पूर्वाधारको माग भएर आएको भन्दै मन्त्रालय कम बजेटमा चलाउन परेको बताए। 

Prabhu Bank

उनले भने, ‘मन्त्रालय कम बजेटमा चलाउन परेको छ। मन्त्रालयको अभिलेखमा हेर्ने हो भने देशभरीका जनप्रतिनिधिहरु, वडासदस्य, गाँउपालिका सदस्यदेखि प्रदेशका सांसद, सभामुख र मन्त्री सबै योजना माग्न आउनुहुन्छ। देशको बजेटभन्दा बढि त खेलकुद पूर्वाधारको माग भएर आएको छ। अहिलेको खेलकुद मन्त्रालयको बजेटले साँच्चै काम गर्न सक्ने भनेको लुडो, चेस र बाघचाल जस्ता खेलहरुको मात्र हो।’

उनले नयाँ खेलकुद ऐन संशोधन हुने क्रममा रहेको भन्दै अब समयसापेक्ष ऐन बन्न सकेन भने समय सापेक्ष नीति र कार्यविधिहरु बन्न नसक्ने बताए। 
उनले भने, ‘खेलकुद ऐन संशोधन हुँदैछ। मन्त्रालयले त्यसको एउटा मस्यौदा बनाएर सरोकारवालहरुसँग सहभागितामूलक तरिकाबाट सुझाव संकलन गर्न सुरु गरेको छ । किनभने अब समयसापेक्ष ऐन बन्न सकेन भने समयसापेक्ष नीति बन्दैन। कार्यविधिहरु बन्दैनन्।’

बजेटको अभाव भएपनि स्थानीय तहहरुसँगको समन्वयमा मन्त्रालयले यसपाली युवा र राष्ट्रलाई जोड्न सक्ने केही कार्यक्रमहरु ल्याउने प्रयास गरेको पनि उनको भनाई छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:०३
Weather Update